जनता टाइम्स

५ कार्तिक २०८१, सोमबार ०८:११

प्रहरीमा दुई एआइजी सिफारिस, ११ दिनमा अवकाश पाउन राणालाई ‘बढुवा पुरस्कार’


काठमाडौं, कात्तिक ५ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।

आइतबार साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डिआइजी किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

आइतवार नै बढुवा समितिले राणासँगै प्रहरी अस्पतालमा कार्यरत प्राविधिक डीआइजी डा. सुन्दरप्रसाद ह्वोजुलाई पनि एआइजीमा बढुवा सिफारिस गरेको छ । प्रशासन समूहमा राणा र प्राविधिकमा ह्वोजु एकल सिफारिस हुनुभएको हो ।

भदौ २६ मा उमेरहदकै कारण अवकाश भएका एआइजी श्यामलाल ज्ञवालीको रिक्त दरबन्दीमा राणालाई बढुवा गर्न सिफारिस गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

राणा ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ गते अवकाशमा जान लाग्नुभएको छ । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा जान्छन । राणालाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको बताइएको छ । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन ।