जनता टाइम्स

५ कार्तिक २०८१, सोमबार ०८:४१

चिसो बढदा पनि रोकिएन डेंगु संक्रमण, अझै २ साता उच्च जोखिम


काठमाडौं, कात्तिक ५ । मनसुन सकिएर मुलुकभर चिसो बढ्न थाले पनि डेंगु संक्रमणको दर भने यथावत रहेको तथ्यांकले देखाएको छ । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गरेपनि केही बर्ष यतादेखि यो क्रम रोकिएको हो ।

स्वास्थय मन्त्रालयको तथ्यांकले विगत ३ वर्षयता चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा दैनिक १५ देखि २० जना डेंगुका शंकास्पद बिरामी पुग्ने गरेका छन । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

स्वाथ्य मन्त्रालयका अनुसार यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएका थिए । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमण दर २ हजार ८ सय ५ जनामा देखिएको थियो । यस वर्ष डेंगुको संक्रमण अझै दुई सातासम्म देखिनसक्ने चिकित्सकको अनुमान छ ।

पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिना नै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर, पछिल्लो समय यसभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको चिकित्सकको भनाई छ ।

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा डेंगु गराउने लामखुट्टे २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने खतरा देखिएको वैज्ञानिकहरूको बुझाइ छ ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन २००६ मा तराईका नौ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको थियो । सन २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो ।

सन् २००९ मा डेंगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको १ वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो । पछिल्लो समय जलवायु परिवर्तनसँगै तापक्रममा वृद्धि हुँदा डेंगुलाई उपयुक्त मौसम बन्न पुगेको र सन् २०२२ यता बाह्रै महिना डेंगु संक्रमण देखिएको छ । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १ सय ३३, फेबु्रअरीमा ३ र १ सय ३०, मार्चमा १५ र १ सय ९५, अप्रिलमा १८ र १ सय ५८, मेमा २५ र १ सय ६३ तथा जुनमा ९३ र १ हजार २६ नयाँ केस देखिएको थियो ।

त्यस्तै, जुलाईमा ७ सय २० र ६ हजार ४ सय ५९, अगस्टमा ३ हजार ७ सय ८ र १४ हजार ५ सय ३४, सेप्टेम्बरमा २७ हजार ५ सय २९ र १३ हजार ९ सय १२, अक्टोबरमा १७ हजार ८ सय ८९ र १२ हजार ६ सय ९९, नोभेम्बरमा ४ हजार २ सय ९० र २ हजार ८ सय ५ तथा डिसेम्बरमा ४ सय ८३ र ५ सय ७६ नयाँ केस देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकनुसार डेंगु संक्रमणको संख्या १९ हजार ५ सय ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म ९ जनाको मृत्यू भएको छ । हाल सबैभन्दा धेरै काठमाडौंमा ३ हजार १ सय ३ जना संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा २ हजार ८ सय ४७, तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२ जनालाई डेंगु संक्रमण भएको छ । चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण भएकोे छ ।