जनता टाइम्स

५ कार्तिक २०८१, सोमबार १४:३३

नेकपा एसका असन्तुष्ट नेताहरुप्रति माधव आक्रोशित, पार्टी छाडेर गएपनि कुनै फरक नपर्ने घोषणा


कपिलबस्तु, कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट नेताहरुसँग आक्रोशित बन्नुभएको छ । महाधिवेशनमा चुनाव हारेका हरुवाहरूले आफू र पार्टीबिरुद्ध षड्यन्त्र गरिरहेको भन्दै नेपालले आक्रोश पोख्नुभयो ।

लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सोमबार सम्बोधन गर्दै अध्यक्ष भन्नुभयो, ‘पार्टीको महाधिवेशनमा पराजित भएका हरुवाहरूले अहिले पार्टीविरुद्ध गलत प्रचार गरिरहेका छन । तिनीहरुको प्रचारवाजीको कुनै अर्थ छैन । उनीहरुकै पनि कुनैअर्थ छैन ।’

अध्यक्ष नेपालले राजीखुसीले चुनावमा भाग लिने अनि हारेपछि बखेडा झिक्ने काम बबण्डर मच्चाउने काम आपत्तिजनक रहेको भन्दै त्यस्ताको पार्टीमा कुनै हैसियत नरहेको बताउनु भयो ।

‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले चुनावको प्रक्रियामा भाग लिने, हार्ने अनि जित्न नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरूको कुनैकाम छैन । तिनीहरु छाडेर गएपनि पार्टीले सामना गरेर अघि जानुको विकल्प छैन,’ नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको जिकिरसमेत गर्नुभयो । ‘पार्टी विलीन हुन लागेको अनर्थ चर्चा हो, एमालेमा विलीन हुने, माओवादीमा विलिन हुने हल्ला चलाइएको छ, त्यो बेकारको हल्ला हो, हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, यो हामीलाई कमजोर बनाउनेहरूको हल्ला हो, आत्मरति हो, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस,’ नेपालले भन्नुभयो ।