ब्यूरोको टोलीले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जनामध्ये पाँच जना यसअघि मिर्गौला तस्करीमा संलग्न रहेको फेला पारेको छ । उनीहरुले आफ्नो मिर्गौला बेच्नेदेखि अरुको मिर्गौला तस्करी गर्ने र तस्करीमा उक्साउनेसम्मको भूमिका खेलेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।
काठमाडौं, कात्तिक ६ । भारतको कोलकत्तामा फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करी गर्ने समुहका ५ जना अरोपी जेल चलान भएको छ ।
अदालतले मिर्गाैला तस्करीमा संलगन भइै दुईवटा घटनामा पक्राउ परेका ६ जनामध्ये पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि उनीहरु जेल पुगेका हुन ।
मिर्गौला तस्करीका दुई वटा फरक मुद्दामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको थियो । जसमा काभ्रेका एक व्यक्तिको मिर्गौला तस्करी घटनामा प्रतिवादी बनाइएका काभ्रेकै कृष्ण विक र ललितपुरका शंकर खत्री यसअघि नै पुर्पक्षका लागि कागार चलान भइसकेका छन ।
चन्द्रागिरीका अर्का युवकको मिर्गौला तस्करीमा खत्रीसहित बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौं चन्द्रागिरीका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुमध्ये राजकुमार, विमलप्रसाद र मुकेशकुमार फरार थिए ।
दोस्रो मुद्दामा पनि प्रतिवादी रहेका शंकर खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले १ लाख धरौटी र शान्तिमायासँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी तीन जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएको छ ।
खत्रीलाई दोस्रो मुद्दामा १ लाख धरौटीमा छाड्न आदेश दिए पनि उनी पहिलो मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन । त्यस्तै पहिलो मुद्दाका कृष्ण विक, नारन परियार, अमन साह र कृष्ण श्रेष्ठ गरी पाँच जनालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । शान्तिमाया भने धरौटी तिर्ने प्रक्रियामा रहेकी छन ।
यो समूहले चन्द्रागिरी र काभ्रेका एक–एक जनालाई कोलकाताको अम्री अस्पताल पुर्याएर मिर्गौला तस्करी गरेको आरोप छ । अहिले पक्राउ परेका मध्ये नारन परियार, कृष्ण श्रेष्ठ, कृष्ण विकले यसअघि आफ्नै मिर्गौला समेत बेचेको खुलेको छ । आफ्नो मिर्गौला बेचिसकेपछि अन्य व्यक्तिलाई पनि मिर्गौला बेच्दा केही फरक नपर्ने भन्दै कन्भिन्स गराएर कोलकातासम्म पुर्याई मिर्गौला तस्करी गरेको आरोप यो समूहमाथि छ । त्यसका लागि उनीहरुले कोलकातामै फ्ल्याट समेत भाडामा लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सो गिरोहले भारतको कोलकातामा फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करी गरेको खुलेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले एक महिनासम्म गरेको अनुसन्धानका क्रममा कोलकातास्थित अम्री अस्पताल नजिक फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करीको धन्दा चलाएको फेला पारेको थियो ।
मिर्गौला उपचारका लागि नेपालबाट कोलकाताको अम्री अस्पतालमा जाने व्यक्तिहरुसँग सम्पर्क गर्ने र मिर्गौलाको सम्पूर्ण उपचारको बन्दोबस्त मिलाउने भन्दै ठगी गरेको पाइएको छ । मिर्गौला तस्करी आरोपमा पक्राउ परेर अमन साह आमा किरणदेवीको मिर्गौला उपचारको लागि अम्री अस्पताल पुगेका थिए । त्यसपछि यो मुद्दाका अन्य प्रतिवादीसँग कोलकातामै भेट भएको उनले प्रहरीसमक्ष बयान दिएका छन ।
३ लाख ७० हजार रुपैयाँमा मिर्गौला बेचेका मनिषले समेत बयानमा कोलकाताको फ्ल्याटमा आफूलाई २ महिनासम्म राखेर मिर्गौला दिन बाध्य बनाएको बताएका थिए । ‘कोलकत्ता पुर्याएपछि मलाई विमलप्रसाद साहको जिम्मा लगाइयो । त्यसपछि अम्री अस्पताल नजिकैको फ्ल्याटमा मलाई २ महिनासम्म राखियो । कोठामै खानेबस्ने व्यवस्था मिलाइएको थियो,’ प्रहरीसँगको बयानमा मनिषले भनेका छन ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कानुन विपरीत मानव अंग झिक्नेलाई १० वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यो कानुन अनुसार नजिकको आफन्तबाहेक अन्यको अंगदान लिन पाइँदैन ।
नक्कली देवर बनाएर मिर्गौला तस्करी
यो प्रकरणमा ३ लाख ७० हजारमा मिर्गौला बेचेका चन्द्रागिरीका मनिषलाई किरणदेवीका नक्कली देवर बनाएको कागजात पनि प्रहरीले फेला पारेको छ । कोलकातास्थित अम्री अस्पताल पुर्याएर मनिषको मिर्गौला किरणदेवीमा प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणलाई वैधानिाक देखाउन मनिष देवर भएको नक्कली कागजात बनाइएको थियो । त्यसका लागि किरण देवीकी देवर मुकेशकुमारको नागरिकता दुरुपयोग भएको पाइएको प्रहरीले जनाएको छ ।
आफ्नो मिर्गौला बेचेपछि तस्करीको धन्दा
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जना व्यक्तिहरुमध्ये पाँच जना यसअघि मिर्गौला तस्करीमा संलग्न रहेको फेला पारेको छ । उनीहरुले आफ्नो मिर्गौला बेच्नेदेखि अरुको मिर्गौला तस्करी गर्ने र तस्करीमा उक्साउनेसम्मको भूमिका खेलेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्