जनता टाइम्स

७ कार्तिक २०८१, बुधबार १७:५९

राष्ट्रपतिले पढाए प्रचण्डसहित विपक्षी नेतालाई संबिधान


काठमाडौं, कात्तिक ७ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी हुनुहुन्थ्यो ।

भेटमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन शीतलनिवासमा आएको जानकारी दिनुभयो । राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपक्षी दलका नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले बताउनु भयो ।

संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपतिले विपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।