पोखरा, कात्तिक ८ । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीले आज लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
गत शुक्रवार पक्राउ गरी आइतवार अदालतमा उपस्थित गराइएका लामिछानेलाई यसअघि प्रहरीले अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । लामिछानेलाई गत शुक्रबार केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरेलगत्तै पोखरा लगिएको थियो ।
सभापति लामिछाने पक्राउ भएदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ । उनीहरुको माग लामिछानेमाथि अनुसन्धान नगरी निर्दाेष घोषणा गर्नुपर्ने रहेको छ । तर प्रहरीले अहिलेसम्म प्राप्त तथ्य र प्रमाणका आधारमा लामिछाने सहकारी ठगीमा पूरापूर दोषी रहेको बताउँदै म्याद थप गर्न अदालतमा माग गरेको थियो । सोही आधारमा अदालतले सात दिन म्याद थप गरेको हो ।
सभापति लामिछानेमाथि सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो । संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको थियो भने प्रतिनिधि सभाबाट सरकारलाई पठाइएको थियो । सरकारले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्