जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ०९:०७

उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिबाना


अर्घाखाँची, , कात्तिक २   सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

सन्धिखर्क–२, चुत्रबेसीमा शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका सञ्जयकुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँच सय जरिबाना तिराएको अनुगमन टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिनुभयो । कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय पच्चीस बोरा चामल बेचेको स्वीकार गरेपछि उनलाई कारबाही गरिएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले चाडपर्वको समयमा अनुगमन गरेर बरामद् गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी ३० हजार मूल्य बराबरको सामान शुक्रबार नष्ट गरेको छ ।