काठमाडौं, कात्तिक ९ । नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
सचिवालयको निर्णयअनुसार एमाले महासचिव शंकर पोखरेलको हस्ताक्षर गरी पठाउनु भएको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पूर्वउपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ । कात्तिक ४ गते बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको एमालेले जनाएको छ ।
पत्रमा सोधिएको छ, ‘विधानको धारा ८१ बमोजिम कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ ।’
विधानको उक्त धारामा पार्टी निर्णय विपरित कार्य गर्नेहरुलाई निलम्बन, जिम्मेवारीबाट हटाउने र निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ । एमालेले कात्तिक ५ गते नै स्पष्टिकरण सोधिएको पत्र पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्