जनता टाइम्स

१० कार्तिक २०८१, शनिबार ०८:३९

रबिका पार्टनर जिबीका अर्का सारथी समातिए


पोखरा, कात्तिक १० । सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानको क्रममा रामबहादुर खनाललाई पक्राउ गरेको हो । सूर्यदर्शनबाट रकम लगिएको नेचर हर्ब्स इन्टरनेसनलमा गीतेन्द्रबाबु (जीबी) राईसँगै सञ्चालक रहेका खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका खनाललाई शुक्रबार नै हवाईमार्गबाट पोखरा ल्याइएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो । डीएसपी शर्माका अनुसार खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको थियो ।

खनाल राई सञ्चालक रहेको गोर्खा ग्रुप अफ कम्पनी लिमिटडका पनि सेयरधनी हुन् । पोखरा महानगरपालिकाले तयार गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा सूर्यदर्शनबाट करोडौं रुपैयाँ नेचर हर्ब्स र गोर्खा ग्रुप अफ कम्पनीमा गएको उल्लेख छ । राई सञ्चालक रहेका अन्य सहकारीबाट पनि नेचर हर्ब्समा रकम गएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । नेचर हर्ब्सले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष बिक्री–वितरणका लागि इजाजत लिएर अवैध नेटवर्किङ व्यवसाय चलाएको थियो ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाएका थिए । राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय गर्ने हर्बो इन्टरनेसनलमा पनि साझेदार थिए ।

उक्त कम्पनीमा रहँदै गर्दा उनले २०६६ मा गोर्खा ग्रुप अफ कम्पनी खोलेका थिए । सरकारले २०६८ मा नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगायो । त्यसपछि उनले पहिलेको नेटवर्क प्रयोग गरेर देशका मुख्य मुख्य सहरमा सहकारी सञ्चालनमा ल्याएका थिए । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतका नाममा नेटवर्किङ व्यवसाय चलाएका थिए ।

प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा बचतकर्ताको बचत अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत गैरकानुनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राईसमेतको गिरोह लामो समयदेखि नेटवर्किङ व्यवसायमा रहेको र नेटवर्किङ शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको पाइन्छ । त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको विस्तार गर्नुका साथै अरूका नाममा कर्जा खडा गरी आफैंले दुरुपयोगसमेत गर्ने गरेको पाइएको छ ।’

नेचर हर्ब्स कम्पनीमै राईको व्यावसायिक साझेदार रहेका पूर्वडीआईसी छविलाल जोशी गत असोज ६ गते नै पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।