जनता टाइम्स

१० कार्तिक २०८१, शनिबार १५:४८

उपनिर्वाचन जिताउने काममा जुट्यो दोलखा एमाले : उम्मेद्वार तयअगावै काठमाडौंमा भेला गरी गर्यो विशेष निर्णय


काठमाडौं, कात्तिक १०। नेकपा एमाले दोलखाले आगामी मंसीर १६ गते हुन गइरहेको गौरीशंकर गाउपालिकाको उपनिर्वाचनमा जीत निकाल्न आफ्नो अभियान तीव्र पारेको छ ।

केन्द्रीय राजनीतिमा बर्चस्व जमाएको गौरीशंकरमा उपाध्यक्षको लागि मंसीर १६ गते उपनिर्वाचन तय भएको छ ।

सोही क्रममा आज काठमाडौंमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा दोलखा इंचार्ज पार्वत गुरुङको प्रमुख आतिथ्यमा विशेष भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

एमाले गौरीशंकर सम्पर्क मञ्चले आयोजन गरेको कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका प्रमुख अतिथि गुरुङले उपनिर्वाचनमा पार्टीले सवैको भावनालाई बुझेर उम्मेदवार तय गर्ने जानकारीसहित जीतका लागि सवैको टास्क प्रष्ट गर्न आवश्यक रहेको बताउनु भयो ।

नेता गुरुङले एमालेको नेतृत्वबिना मूलुक, दोलखा र गौरीशंकरको बिकश सम्भव नहुने तथ्य औल्याउनु भयो ।

‘केपी ओलीको नेतृत्वमा नेपाल बन्छ, एमालेको नेतृत्वमा नेपाल बन्छ । दोलखा र गौरीशंकरको बिकाश पनि नेकपा एमालेको नेतृत्व अनिवार्य छ । मिशन-८४ को यो काम पूरा गर्न मंसीर १६ गते हुने उपनिर्वाचन जीत्नुपर्छ,’ गौरीशंकरकै मतदातासमेत रहनुभएका एमाले पोलिटब्यूरो सदस्य गुरुङले भन्नुभयो ।

नेता गुरुङले अवसरवादीलाई अब दोलखामा एमालेले स्थान नदिने घोषणा गर्नुभयो । ‘अब पार्टी काममा लागेका इमानदार र जनताका बीचमा रमाउन चाहने व्यक्तिलाई स्थान दिने हो । मलाई मात्र अवसर चाहिन्छ भन्ने कुरा अब एमालेलाई स्वीकार्य छैन,’ नेता गुरुङले भन्नुभयो ।

नेता गुरुङले दोलखा र गौरीशंकरमा नेकपा एमालेको वर्चस्वलाई कायम राख्न सवै दृढतापूर्वक लाग्न पनि निर्देशन दिनुभयो । उहाले दोलखामा एमालेलाई पराजित गर्न सम्भव नभएको ठोकुवा गर्नुभयो ।

उहाले उम्मेदवार चयनका लागि नेत्री उर्मिला थामीको संयोजकत्वमा ५ सदस्यीय कार्यकाल गठन गरिएको जानकारी पनि दिनुभयो । कार्यदलमा एमाले दोलखाका सचिव सोयमबहादुर खडका, सचिवालय सदस्य जंग गुरुङ, मिंगुर शेर्पा र नीमा लामा रहनुभएको छ ।

कार्यक्रममा एमाले बागमति प्रदेश सदस्य तथा उम्मेदवार छनोट कार्यकालकी सदस्य उर्मिला थामीले सवै एकजुट बनेर चुनावमा पार्टीले उठाएको उम्मेद्वारलाई जिताउन अपील गर्नुभयो ।

‘पार्टीका नाममा खाएर मोटाएकाहरूले विरोधीको एजेण्ट बनेर अनेकन भ्रम छर्न सक्छन, स्वतन्त्र उम्मेद्वारी पनि दिन सक्छन । तिनीहरूको भ्रममा कोही पर्न हुन्न । तिनको अफवाह तोडेर मंसीर १६ मा गौरीशंकरमा सूर्यको झण्डा झुक्न दिनुहुन्न,’ गौरीशंकर गाऊपालिकाका प्रथम निर्वाचित उपाध्यक्षसमेत रहनुभएकी नेत्री थामीले भन्नुभयो ।

मञ्चका अध्यक्ष शहदेव बराइलीको अध्यक्षता र सचिव दिनेश खडकाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले केन्द्रीयसदस्य सरस्वती बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले दोलखाका सचिव सोयम खडका, युवा संघका उपाध्यक्ष माहाराज गुरुङ, खेलकूद महासंघका सचिव तीर्थ खडका, रामप्रसाद रिमाल, जंग गुरुङ, मिंगुर शेर्पा, छत्र कार्की, अमृत खडका, उमेश खडकालगायतका नेताहरुले आफ्नो धारणा राख्नू भएको थियो ।