अमेरिका, कात्तिक २ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताउनु भएको छ । संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री खतिवडाले सो प्रस्ताव गर्नुभएको हो ।
“नेपालको चरम गरीबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पुर्याई गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन विश्व बैंकले सहायता राशीमा वृद्धि गर्नु जरुरी छ,” बैठकमा अर्थमन्त्री खतिवडाले भन्नुभयो ।
विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणानीति प्राथमिकताको विषयमा समेत खुलेर चर्चा गर्नुभयो । बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा. खतिवडाले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाउनु भयो । विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एशियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा धन्यवादसमेत दिनुभएको छ ।
नेपालसँग बैंकको अझै धेरै क्षेत्रमा साझेदारी गर्न बाँकी रहेको उनीहरुको भनाइ थियो । वित्तीय सङ्घीयताको कार्यान्वयनको अनुभव आदानप्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालले छोटो सयममा वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो । सो कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयताको कार्यान्वयनका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो । यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँड लगायतको विषयमा सचिव बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका अर्थमन्त्रीहरुको १४औँ अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताउनु भयो । अन्तरदेशीय सडकलगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक वृद्धिमा योगदान पुर्याउने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्