काठमाडौं, कात्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति रवि लामिछानेलाई बचाइदिन हारगुहार गरेको तथ्य बाहिर आएको छ ।
सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आज सामाजिक सञ्जालमार्फत सो तथ्य खुलासा गर्नुभएको हो । पूर्वपत्रकार तथा लेखकसमेत रहनुभएका नेता रिजालका रास्वपा उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर ‘सभापतिलाई बचाइदिनु पर्यो’ भनर प्रधानमन्त्री ओलीसँग अनुनय बिनय गर्नुभएको छ ।
‘डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न’, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
रिजालले प्रधानमन्त्री ओलीबिरुद्ध आपत्तिजनक आक्षेप लगाएर सडकमा नारावाजी र पुत्ला दहन गर्ने रास्वपाका नेताहरु कुन मुख लिएर बालुवाटार गए ? भन्दै प्रश्न पनि गर्नुभएको छ ।
‘दिनभर प्रधानमन्त्रीको शव बनाएका दाहासंस्कार गर्ने अनि राति–राति कुन मुख लिएर बालुवाटार जान सकेको ? रिजालको भनाई छ । उहाँले अगाडि थप्नुभएको छ, ‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्यो, लौ न भनेर हारगुहार गर्दा हुन ?’
प्रतिक्रिया दिनुहोस्