जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार १८:३४

खानेपानीमन्त्री बिना मगरको कामको परिणाम : अव सिधै नुहाउन सकिने बन्छ बागमती नदीको पानी


काठमाडौं, कात्तिक २ । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा सिधै नुहाउन सक्नेछन । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना कार्यान्वयन इकाइका प्रमुख भोजविक्रम थापालगायतको टोलीले आज पानी प्रशोधन केन्द्रको अवलोकन गरेको छ । आयोजनास्थलको अवलोकन गर्दै मन्त्री मगरले पानी प्रशोधन हुने प्रक्रियाबारे जानकारी लिँदै समयमै काम सक्न निर्देशनसमेत दिनुभयो । एसियाली विकास बैंकको आर्थिक सहयोग रहेको यो आयोजनाको लागत २ अर्ब ५५ करोड रहेको छ । यहाँबाट ३ सय ९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ भने दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन हुनेछ ।

झन्डै ४ वर्षअघिदेखि निर्माण थालिएको यो आयोजना आउँदो पुसमा सपन्न गर्ने लक्ष्य राखिएको छ । निकै ढिला सुस्ती भएको यो आयोजना मन्त्री मगरले शिबेष चासो दिएपछि कामले तीब्रता पाएको हो । पहिलो चरणमा काठमाडौंको गोेकर्णदेखि गुहेश्वरीसम्म पानी प्रशोधन गर्न लागिएको हो । यस्तै ललितपुरको धोवीघाट तथा बालकुमारीमा पनि पानी प्रशोधन केन्द्रको निर्माण थालिएको छ। धोबिघाटमा यो परियोजना लागि मात्रै ६ सय रोपनी जग्गा छुट्याइएको छ । धोबिघाटको योजना सम्पन्न गर्न झन्डै ५ खर्ब बजेटको अनुमान गरिएको छ । सरकारले काठमाडौंका नदीबाट दैनिक १३ करोड लिटर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम गरिरहेको मन्त्रालयका सचिव माधव वेल्वासेले जानकारी दिनुभयो । बागमतीको मुहानछेउ धापमा पानी संकलन केन्द्र बनाइएको र हिँउदमा त्यो पानी नदीमा बहाइने र अन्य नदी सफाइका लागि पनि काम भइरहेको सचिव बेल्वासेले बताउनु भयो ।

लेदोबाट कम्पोष्ट मल, ग्यासबाट बिजुली

६ किलोमिटर बागमती नदीको पानी प्रशोधनका क्रममा दैनिक ७ टन लेदो जम्मा हुने अनुमान गरिएको छ । यसरी जम्मा भएको लेदोको ग्यासबाट दैनिक ३ सय २० किलोवाट विद्युत उत्पादन हुनेछ भने लेदोबाट प्रतिदिन ७ टन कम्पोस्ट मल निस्कनेछ । यसरी निस्किएको मल अन्नबाली तथा तरकारी खेतीका लागि उपयुक्त हुने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिए। ग्यास उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेष्टर’को निर्माण गरिएको छ ।

सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पनि पानी प्रशोधन गरिने भएको छ । यहाँबाट प्रशोधन भएको पानी पिउन योग्य नभएपनि नुहाउनसम्म हुने जानकारी दिइएको छ । आयोजना प्रमुख लिलाप्रसाद ढकालले हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिनुभयो । ‘प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले आयोजना आगामी पुसभित्र सम्पन्न गर्नेगरी काम गरिरहेका छौं । अहिलेको प्रगतिको अवस्था हेर्ने हो भने ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

फोहोर पानी प्रशोधन केन्द्रमा पानीमा बगेर आएको फोहोर तथा लेदो संकलन गर्ने प्रविधि रहेको छ । एउटा गन्ध आउने यूनिट रहने र अर्को गन्ध नआउने युनिट रहन्छ । यसरी प्रशोधन गरिएको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कृषि प्रयोजनका लागि प्रयोग गर्न सकिने आयोजना प्रमुख सुरत बमले बताउनुभयो । उद्योगको मेसिनमा कुलिङ गर्न, सडक सफा गर्न, सिंचाई गर्न सकिने उहाँको भनाई छ । फोहोर पानीमा भएको लेदोबाट बिजुली निस्कने प्रविधी राखिएको छ ।

‘बायोलोजिकल रियाक्टर’ प्रणाली अर्थात फोहोरमा रहेका किरालाई पानीमा रहेको फोहोर खाएर सफा गर्ने प्रणालीलाई पनि पानी प्रशोधन विधिमा समेटिएको जानकारी दिइएको छ । ती किराका लागि आवश्यक तापक्रम मिलाउने प्रणाली पनि मिलाउनुपर्ने उहाँको भनाइ छ । आयोजना प्रमुख बमले लुकेर सर्वसाधारणले नदीमा फोहोर फ्याँकेमा भने यसरी प्रशोधन गर्नुको अर्थ नहुने भन्दै यसमा सहयोग गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

बागमती प्राकृतिक रुपमा फर्कदैछ : मन्त्री मगर

आयोजनास्थलको अवलोकनपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै खानेपानी मन्त्री बिना मगरले वागमतीले पुनः पहिलेकै जीवन पाउन लागेको बताउनुभयो । उहाँले काठमाडौंमा ढल निकासको समस्या ठूलो मात्रामा रहेको बताउँदै कलकारखाना, हस्पिटलका केमिकलयुक्त फोहोर, घरबाट निस्कने फाहोरले प्रत्यक्ष रुपमा स्वास्थ्यमा समस्या पर्ने उल्लेख गर्नुभयो । आयोजनाको बाँकी ५ प्रतिशत काम छिट्टै सकेर उदघाटनको तयारी गरेको जानकारी पनि मन्त्री मगरले दिनुभयो ।

‘पशुपति क्षेत्रमा सफा पानी बगाउने हाम्रो लक्ष्यलाई हामीले अन्तिम चरणमा पुर्याइरहेका छौं र पशुपति दर्शन गर्न आएका बेला बागमतीमा नुहाउने सबै दर्शनार्थीको चाहना, हाम्रो परम्परा, हाम्रो आस्था र हाम्रो संस्कारसँग जोडिएको बागमती नदीको महत्वलाई जिवन्त राख्न सफल हुने क्रममा छौं । बागमतीलाई प्राण भरिदिने र हाम्रो संस्कार दाहसंस्कारदेखि पूजापाठसम्मलाई सहजीकरण गर्न सफा पानी बगाउन काम गर्ने भूमिका अन्तिम चरणमा पु¥याएका छौं ।’

मन्त्री मगरले बागमती प्राकृतिक रुपमा फर्कन पाओस्, जीवन पाओस् भन्ने चाहनालाई यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने आफ्नो निश्कर्ष पनि सुनाउनुभयो । बागमतीको मुहानदेखि पशुपतिनाथको मन्दिर क्षेत्रमा सफा पानी छिटै बगेको देख्न पाइने उहाँको भनाई छ । द्रूत गतिमा आयोजनाको काम भएकोमा आफूलाई खुसी लागेको बताउँदै उहाँले पशुपतिमा आउने भक्तजनलाई सफा पानीको अनुभूति गराउनमा सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।