जनता टाइम्स

१६ कार्तिक २०८१, शुक्रबार ०८:३४

स्पाको आवरणमा ठमेलमा खुलेयाम यौन धन्दा, सञ्चालिका पक्राउ परेपछि खुल्यो पोल


काठमाडौं, कात्तिक १६ । बालिकालाई वेश्यावृत्तिको काममा लगाउने मसाज सञ्चालिका पक्राउ परेकी छन। पक्राउ पर्नेमा लमजुङको बेसीशहर नगरपालिका ८ की ३८ वर्षीया सपना खवास रहेकी छन्।

काठमाडौं महानगरपालिका १६ ठमेल सातघुम्तीस्थित खवासले सञ्चालन गरेको हिमालयन आयुर्वेदिक स्पामा परिवर्तित नाम २६ बबरमहल (३४३) समेतलाई आर्थिक प्रलोभनमा पारी ललाई फकाई गरी वेश्यावृत्तिमा लगाएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

मसाजमा शारीरिक सम्पर्क राख्न आउने प्रतिग्राहकबाट एक पटकको पन्ध्र सय लिने र शारीरिक सम्पर्क राख्ने बालिकालाई पाँच सय तथा २५ प्रतिशत दिने भनी प्रलोभन देखाई रकम समेत नदिई दिनमा ४/५ जना पुरुष ग्राहकसँग वेश्यावृत्तिको काममा लगाउने गरेको खुलेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो ।

अभियुक्तहरुले बिभिन्न पुरुष ग्राहकहरु खोजी नाबालिकाहरुमध्ये एकजनालाई छान्न लगाई मसाजमा रहेका कोठाहरुमा ग्राहकसँग ‘एक्ट्रा सर्भिस’ भनी शारीरिक सम्पर्क राख्न लगाउने गरेको रिमालले बताउनु भयो ।

अभियुक्तहरुले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथिहरुलाई भनि दिने भनि डर त्रासमा पारी महिनावारी भएको बेलामा समेत वेश्यावृत्तिको काममा लगाउने गरेको खुलेको छ।

पीडित बालिकाले ब्यूरोमा जाहेरी दरखास्त पेश गरेपछि अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले मसाज सञ्चालिका खवासलाई काठमाडौंको नागार्जुन नगरपालिका १ बाट पक्राउ गरेको हो। खवासलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।