काठमाडौं, कात्तिक १९ । अमेरिकाको डभी लोटरी– २०२६ को लागि आवेदन दिने म्याद दुई दिन थपिएको छ । काठमाडौंस्स्थित अमेरिकी राजदूतावासले सोमबार डाइभर्सिटी भिसा–२०२६ को लागि आवेदन दिने म्याद दुई दिन थपिएको जानकारी दिएको हो ।
राजदूतावासका अनुसार म्याद थप भएसँगै २०२४ नोभेम्बर ७ सम्म डभी लोटरीका लागि आवेदन दिन सकिने छ । यसअघि नोभेम्बर ५ तारिकसम्म मात्रै डाइभर्सिटी भिसा कार्यक्रमको लागि समय तोकिएको थियो ।
गत असोज १६ गतेबाट डिभी लोटरी खुलेको थियो । यसपटक भरेकाहरुको डिभी लोटरीको नतिजा सन २०२५ को मे ३ मा आउनेछ । त्यसपछि उनीहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन । साथै यसपटक पनि डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।
डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । यदि यी योग्यताहरु छैनन भने डिभी परे पनि अमेरिका जान पाइने छैन । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न दुतावासले सुझाएको छ ।
कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटोसमेत डिभी भर्दा प्रयोग गर्छन । यस्तो गल्ती नगरी नयाँ फोटो खिचेर डिभी भर्न दूतावासले सुझाएको छ । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।
डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन, जुन गलत रहेको अमेरिकी दूतावासको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्