काठमाडौं, कात्तिक २१ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको छ । बुहमत अर्थात (२७०) भन्दा बढी सिट जित्दै ट्रम्प १३२ बर्षपछि इतिहास रच्दै दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गर्नुभएको छ । पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिटमा सिमित हुनुभएको छ । आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपति बन्न सफल हुनुभएका ट्रम्प पछिल्लो निर्वाचनमा भने जो बाइडेनसँग पराजित हुनुभएको थियो । उहाँले पुनः प्रतिस्पर्धा गरी जीत निकाल्नुभएको हो ।
ट्रम्पले आफ्नो कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाको हितमा काम गर्ने बताउँदै भन्नुभएको छ, ’यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ ।’
उहाँले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो । आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उहाँको भनाइ छ । चुनावी र्यालीमा सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली उहाँको कानलाई छुँदै गएपछि बाँच्न सफल हुनुभएको हो ।
ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताउनु भयो । राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्वपूर्ण काम रहेको बताउँदै उहाँले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गर्नुभयो । भाषणका क्रममा उहाँले एक्स (ट्वीटर)का मालिक एलन मस्कको प्रशंसासमेत गर्नुभयो । एलन मस्क रिपब्पलिकन पार्टीका ’नयाँ स्टार’को भएको घोषणा उहाँले गर्नुभयो ।
अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्वराष्ट्रपति ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उहाँ दोस्रो व्यक्ति हुनुहुन्छ ।
यसअघि सन् १८९२ नोभेम्बर ८ मा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा ग्रोभर क्लिभलेन्ड विजय हुनुभएको थियो । क्लिभलेन्ड त्योभन्दा अगाडिको चुनावमा पराजित हुनुभएको थियो । राष्ट्रपति भएपछिको चुनाव पराजित भएर फेरि अर्को चुनाव जित्ने प्रथम रेकर्ड क्लिभलेन्डकै नाममा छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार क्लिभलेन्ड २७७ इलेक्टर मत ल्याएर विजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्