जनता टाइम्स

२२ कार्तिक २०८१, बिहीबार १०:५९

सरकारलाई सघाउन ओली-देउवाको नेतृत्वमा बन्यो संयन्त्र, दुवै दलबाट चार-चार जना सदस्य


काठमाडौं, कात्तिक २२ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरणका गर्न राजनीतिक संयन्त्र बनाएका छन । पार्टी पदाधिकारी र मन्त्रीहरू संलग्न रहेको दुई दलीय संयन्त्रको नेतृत्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत रहनुभएका उपमहासचिव विष्णु रिमाल सदस्य हुनुहुन्छ ।

संघीय संयन्त्रको सदस्य तोकेर मंगलबार नै पहिलो बैठक बसे पनि त्यसको औपचारिक जानकारी सत्तारूढ दलले बुधबार मात्र सार्वजनिक गरेका हुन । संयन्त्रको पहिलो बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणले प्रवेश पाएको थियो ।

चीन भ्रमणका विषयलाई लिएर सत्ता गठबन्धनमाथि नै टिकाटिप्पणी उठ्न थालेकाले पहिलो बैठकमै छलफल गरिएको हो । चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा आगामी महिना हुने भनिएको चीन भ्रमण तयारीको संयोजन प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको निर्देशनमा परराष्ट्रमन्त्री राणाले गर्ने निर्णय बैठकमा भएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘दुई नेताको निर्देशनअनुरूप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्नेछ ।’ संयन्त्रले सरकारका काम र प्राथमिकतामा सहजीकरण गर्ने, अप्ठ्यारा फुकाउने, अन्तर्राष्ट्रिय सम्बन्धमा साझा धारणा बनाउने र आउन सक्ने चुनौतीमा सहजीकरण गर्नेलगायतका काम गर्ने छ ।

दुई दलबीच गत असार १७ मा भएको सातबुँदे सहमति कार्यान्वयन गर्न र सरकारका कामकारबाहीमा आउन सक्ने अप्ठ्यारा फुकाउनका लागि संयन्त्र बनाइएको दावी पनि नेताहरुको छ ।सरकारले सय दिन पार गर्न नपाउँदै बिपक्षीको बिरोध गरेको बेला दुई दलले सरकारलाई सघाउन संयन्त्र बनाएका हुन । प्रदेश र पालिका तहमा समेत चाँडै संयन्त्र बनाउने सहमति भएको दुवै दलका नेताहरुले बताएका छन ।