जनता टाइम्स

२२ कार्तिक २०८१, बिहीबार २०:०५

भैंसेपाटी हनी ट्रयाप प्रकरणमा मुछिए रबिका प्रिय एपसी


काठमाडौं, कात्तिक २२ । भैंसेपाटी हनी ट्रयाप प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेका प्रिय पात्रको संलग्नता देखिएको छ ।

भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरणमा रबिका प्रिय पात्र रहेका प्रहरी उपरीक्षक (एसपी) कमल थापा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

एसपी थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई सो घटनाको जिम्मेवारी दिएको हो । सीआईबीका प्रमुख एआईजी दिपक थापाले सो प्रकरणमा अनुसन्धान अघि बढाइउको बताउनु भयो । घटनाको नेक्सस विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि अनुसन्धान थालिएको उहाँको भनाई छ ।

सिआइवीले सो घटनामा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल पनि झिकाएर अनुसन्धान सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान गरिने एआइजी थापाले बताउनु भयो । रबि गृहमन्त्री हुँदा एसपी थापाले निकै फुर्ति लगाउने गरेको उहाँकै सहकर्मीहरु बताउँछन । रबिको प्रिय पात्र बनेपछि थापाले आफ्नो हैसियतसमेत बिर्सिएको उनीहरुको भनाई छ ।

भैंसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्स्पेक्टर शाहीकै संलग्नतामा प्रहरी चौकीमा लेनदेन भन्दै गत असोज ६ गते ललितपुर प्रहरी परिसरका अधिकारीहरुसमक्ष सूचना पुगेपछि छानविन थालिएको थियो । सूचनालगत्तै ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सबैलाई कार्यालयमा बोलाएर छानबिन थाल्नुभएको थियो ।

त्यसक्रममा इन्स्पेक्टर शाहीको पनि शंकास्पद भूमिका देखिएपछि प्रतिवादी बनाएर पक्राउ पूर्जी जारी भएको थियो । पुर्जी जारी भएपछि इन्सपेक्टर शाही फरार हुनुभएको छ । ललितपुर प्रहरीको छानबिन समितिको जाँचका क्रममा शाहीलाई आरोपी ताज स्माइलसँग एसपी कमल थापाले चिनजान गराइदिएको भेटिएको र एसपी थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहँदैबाट इस्माइलसँग परिचित रहेको तथ्य खुलेको थियो ।

अनुसन्धानका क्रममा एसपी थापाको स्माइलसँग पटकपटक भेटघाट र कुराकानी हुने गरेको समेत भेटिएको छ । आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गरेको थियो । प्रहरी समेतको उपस्थितिमा ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएपनि अन्तिममा ३० लाखमा सहमति गरेको अनुसन्धानबाट खुलेको छ ।