जनता टाइम्स

२६ कार्तिक २०८१, सोमबार ०९:३६

त्रिबिले रद्ध गर्यो शंकरदेव क्याम्पसमा मेरिट मिचेर गरिएको भर्ना


काठमाडौं, कात्तिक २६ । शंकरदेव क्याम्पसमा मेरिट सूची मिचेर गरिएको भर्ना त्रिभुवन विश्वविद्यालयले रद्द गरेको छ ।

क्याम्पस प्रशासनले व्यवस्थापन संकायअन्तर्गत बीबीए, बीबीए फाइनान्स र बीआईएम विषयमा मेरिट सूची बाहिरबाट भर्ना भएका ५७ जना विद्यार्थीले पढन नपाउने भएका हुन । मेरिटमा परेका विद्यार्थीले मेरिट बाहिरका विद्यार्थी भर्ना गरेको भन्दै त्रिवि उपकुलपति कार्यालयसहित विभिन्न निकायमा उजुरी दिएका थिए । त्रिवि अनुगमन निर्देशनालयको छानबिनमा मेरिट सूची मिचेर भर्ना गरेको पाइएपछि त्रिविले रद्द गर्न निर्देशन दिएको थियो ।

विश्वविद्यालयको निर्देशनपछि त्यस्ता विद्यार्थीको भर्ना रद्द गरिएको निमित्त क्याम्पस प्रमुख जोगिन्द्र गोइतले जानकारी दिनुभयो । ‘मेरिटका आधारमा विद्यार्थी भर्ना लिन आइतबार चौथो सूची सार्वजनिक गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यसअघि पनि दोस्रो र तेस्रो सूची सार्वजनिक गरेर मेरिटकै आधारमा विद्यार्थी भर्ना लिइएको थियो ।

शंकरदेव क्याम्पसमा बीबीएमा ९९, बीबीए फाइनान्समा ६६ र बीआईएममा ६६ जना विद्यार्थी भर्ना हुन पाउँछन् । क्याम्पस प्रशासनले सिट संख्या बराबर मात्रै पहिलो मेरिट सूची निकालेर बदमासी गरेको पाइएको छानबिन समितिले जनाएको छ । सो क्याम्पसमा पहिलो सूचीबाट सिट संख्या पूरा नभए मेरिटकै आधारमा अर्को सूची सार्वजनिक गर्नुपर्थ्यो । पहिलो चरणको भर्ना सकिएपछि खाली भएको सिटमा मेरिट बाहिरकालाई मनोमानी भर्ना गरिएको थियो ।

अनुगमन निर्देशनालयका निर्देशक पुष्कर रैखलाको संयोजकत्वको छानबिन समितिले बीबीएमा १८, बीबीए फाइनान्समा २७ र बीआईएममा १२ विद्यार्थी मेरिटभन्दा बाहिरबाट भर्ना गरिएको निष्कर्ष निकालेको थियो । ‘छानबिन समितिको प्रतिवेदनका आधारमा मेरिट बाहिरको भर्ना खारेज गरी पुनः मेरिटअनुसार भर्ना लिन डिन कार्यालयले सिफारिस गरेको थियो,’ व्यवस्थापन संकायका डिन डिल्लीराम शर्माले भन्नुभयो, ‘निर्देशनअनुसार भर्ना प्रक्रिया अघि बढेको जानकारी पाएका छौं ।’

मेरिट बाहिरबाट भर्ना भएका विद्यार्थीले क्याम्पसलाई बुझाएको शुल्क फिर्ता हुने निमित्त प्रमुख गोइतले बताउनु भयो । यी विषयमा ४ लाख ३५ हजार शुल्क तोकिएको छ । विद्यार्थी पहिलो किस्ता बुझाएर भर्ना भएका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघलगायतका बिद्यार्थी नेताहरूको दबाबमा मेरिट बाहिरका विद्यार्थी भर्ना गरिएको थियो। क्याम्पसका पहुँचवाला अध्यापक, कर्मचारी, विद्यार्थी नेताको दबाब र प्रभावमा मेरिट मिच्ने काम हुँदै आएको विद्यार्थीको गुनासो छ । मेरिट बाहिरका विद्यार्थीसँग अतिरिक्त रकम लिएर भर्ना गरिएको आरोपसमेत लागेको छ । तर उक्त विषय र बदमासी गर्नेलाई कारबाही गर्ने सम्बन्धमा छानबिन समिति मौन रहेको भन्दै क्याम्पसका अध्यापकहरूले असन्तुष्टि जनाएका छन । छानबिन समिति, डिन कार्यालय, विश्वविद्यालय र क्याम्पस प्रशासनलगायत कुनै पनि निकायले दोषीलाई कारबाही गर्न चासो नदिएको उनीहरूको भनाइ छ ।

मेरिट बाहिरका विद्यार्थी भर्ना गरिएको सार्वजनिक भएपछि क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँको राजीनामा स्वीकृत गरेर त्रिविले गोइतलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।

व्यवस्थापनका अधिकांश विषयमा विश्वविद्यालयले एकीकृत प्रवेश परीक्षा (सीम्याट) सञ्चालन गर्छ र त्यसका आधारमा मात्रै विद्यार्थी भर्ना हुने व्यवस्था छ । एकीकृत प्रवेश परीक्षापछि कक्षा १२ को ग्रेड/प्राप्तांक र अन्तर्वार्ताका आधारमा मेरिट कायम गरिन्छ ।