जनता टाइम्स

२६ कार्तिक २०८१, सोमबार १७:३१

गृहप्रदेशबाट प्रचण्डलाई आयो प्रधानमन्त्री ओलीको कडा जवाफ


मोरङ, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहप्रदेशबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जस्ताको तस्तै जवाफ फर्काउनु भएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको बिषयमा प्रचण्डले अनावश्यक प्रश्न उठाएपछि नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले त्यो नहुने भन्दै जवाफ दिनुभएको हो ।

विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री ओलीले एसपीपी सम्झौता नहुने प्रष्ट पार्नुभयो । जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको एसपीपीका बारेमा प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौता नहुने बताउनु भयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार वर्तमान सरकारले एसपीपी सम्झौता गर्न सक्ने आशंकापूर्ण अभिव्यक्ति दिनुभएको थियो ।विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरेपछि प्रधानमन्त्री ओलीले जवाफ फर्काउनु भएको हो ।

आइतबार मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको एसपीपी सम्झौता सरकारले गर्नसक्ने जिकिर गर्नुभएको थियो । प्रचण्डको जवाफ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘मुलुकको समृद्धिका लागि हामी काम गर्दैछौं ।