जनता टाइम्स

२७ कार्तिक २०८१, मंगलवार १६:२१

माधवलाई ठूलो झडका, प्रदेश अधिवेशन चल्दै गर्दा नेकपा एसको औचित्य सकियो भन्दै केन्द्रीय सदस्य नै फर्किए एमाले


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कर्णाली प्रदेशमै ठूलो झडका लागेको छ । प्रदेश अधिवेशन चलिरहँदा माधवको बिश्वासपात्र केन्द्रीय सदस्य नै सो पार्टीको औचित्य सचियो भन्ने निश्कर्षसहित एमाले फर्कनुभएको छ ।

दैलेख, कात्तिक २७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कर्णाली प्रदेशमै ठूलो झडका लागेको छ । प्रदेश अधिवेशन चलिरहँदा माधवको बिश्वासपात्र केन्द्रीय सदस्य नै सो पार्टीको औचित्य सचियो भन्ने निश्कर्षसहित एमाले फर्कनुभएको छ ।

माधव नेपाल कर्णाली पुगेकै बेला केन्द्रीय सदस्य जंगबहादुर शाही आफ्नो पुरानो घर नेकपा एमाले फर्कनुभएको हो । एमाले पार्टी कार्यालय दैलेखमा आयोजना गरिएको बिशेष कार्यक्रमबीच नेता शाही एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले स्थायी कमिटी सदस्य तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पार्टीमा स्वागत गर्नुभयो ।

अहिले नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी रहेको छ । उक्त अधिवेशनको उदघाटन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल कर्णाली पुगेकै समयमा पार्टीका केन्द्रीय सदस्य शाही एमालेमै फर्किनु भएको हो । दैलेखको महाबु गाउँपालिका निवासी शाही एमाले दैलेखको पूर्वसचिवसमेत हुनुहुन्छ । उहाँ २०७६ सालमा जिल्ला सचिव हुनुभएको थियो । जिल्ला र पालिकामा लोकप्रिय र जनताबीच भिजेका नेता शाही एमालेमै फर्किएपछि दैलेखमा नेकपा एस निकै कमजोर बनेको छ ।

एमाले स्रोतका अनुसार उहाँलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षको उम्मेदवार बनाउन लागिएको छ । यस अघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरेको थियो । महाबुको भने टुंग्याउन बाँकी थियो । सो ठाउँमा शाहीलाई उम्मेदवार बनाउने तयारी एमालेले गरेको छ ।

नेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट शाही उम्मेदवार बनेर करिब १९ सय मत प्राप्त गर्नुभएको थियो । यस्तै, दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो ।

उहाँको निधन भएपछि यसपालिकामा निर्वाचन हुन लागेको हो । गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्नुभएको थियो ।