गिलगिट, कात्तिक २८ । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले आज एएफपीलाई जानकारी दिएको छ ।
उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले भन्नुभयो,‘बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।’ गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । ‘घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त छिन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,’ अलीले भन्नुभयो ।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई बताएअनुसार चालकले तीव्र गतिमा गाडी चलाएको जस्तो देखिन्छ । दुलहाको परिवार विवाहका लागि ५०० किलोमिटर भन्दा बढी टाढा पञ्जाबबाट गिलगिट–बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कंदै गर्दा दुर्घटना भएको थियो । पाकिस्तानमा सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यधिक रहेको छ ।
यातायातका पूर्वाधार जीर्ण हुनु, पूराना सवारी साधनको प्रयोग, ट्राफिक नियमको पालनामा लापर्बाहीलगायतका कारण हुने सडक दुर्घटनाका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गर्छन् । बलुचिस्तानको मकरान सामुद्रिक राजमार्गमा गत अगस्टमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सोही महिना पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पट्टन शहर नजिकै एउटा बस सडकबाट खोल्सोमा खस्दा बसमा सवार २४ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्