जनता टाइम्स

२९ कार्तिक २०८१, बिहीबार १६:३०

ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु


ब्रासिलिया, कात्तिक २९ । ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । जी–२० शिखर सम्मेलनको तयारी भइरहेका समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो । ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमण प्रयास थियो ।

उहाँले भन्नुभयो,‘अदालत नजिकैको नजिकैको कारमा विस्फोट भएको र केही सेकेन्डपछि उक्त व्यक्ति बाहिर निस्केको देखिएको बताउनुभएको छ । ‘आक्रमणकारी कारमा बसेर सङ्घीय सर्वोच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट भएको थियो,’ लेओले भन्नुभयो । ‘आक्रमणबाट अन्य कसैलाई पनि चोट पटक लागेको छैन,’ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो,‘मृतकलाई विस्फोटक उपकरणसहित रहेको अवस्थामा घटनास्थलबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।’ सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आक्रमणको अनुसन्धानका लागि प्रहरी अनुसन्धान सुरु गरिनेछ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वका नेताहरूको सहभागितामा आगामी सोमबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् ।

राष्ट्रपति सी बुधबार ब्राजिलियाको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै बुधबारको सत्रको अन्त्यमा दुईवटा विष्फोट भएको र न्यायाधीशहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । अदालत प्राका डोस ट्रेस पोडेरेसमा अवस्थित छ, जुन राष्ट्रपति भवन र कंग्रेसको पनि अगाडि रहेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा विस्फोटको समयमा राष्ट्रपति कार्यालयमा नभएको बताइएको छ ।

ब्राजिलका सोलिसिटर जनरल जर्ज मेसियासले आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले एक्समा लेख्नुभएको छ,‘हामीले आक्रमणको पछाडिको प्रेरणालाई बुझ्न आवश्यक छ, साथै जतिसक्दो चाँडो शान्ति र सुरक्षा पुनः स्थापना गर्न आवश्यक छ ।’ राष्ट्रपति भवन सिल गरिएको छ र प्लाजाको वरिपरि ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । बोल्सोनारोका सल्लाहकार फाबियो वाजनगार्टनले यस घटनालाई लिएर सामान्यीकरण नगर्न चेतावनी दिनुभएको छ ।