जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार ०६:४०

उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्रीको प्रशन्नता


काठमाडौं, कात्तिक ४ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताउनुभएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आइतवार गर्नुभएको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गर्नुभएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह उपनिर्वाचनका विविध विषयमा आयोगका तर्फबाट प्रधानमन्त्रीसँग छलफल गरेको हो । छलफलमा आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल सहभागी हुनुहुन्थ्यो ।

आयोगले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, निर्वाचन चिन्ह, मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालनका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको थियो ।

यस्तै संविधानको धारा २७१ बमोजिम दल दर्ता, उपनिर्वाचनका लागि आवश्यक ऐन, नियम कार्यविधि, निर्देशिकालगायतका सम्पूर्ण विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको आयोगले जनाएको छ । प्रधानमन्त्रीले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आयोगबाट भइरहेको तयारी सन्तोषजनक रहेको बताउनुभएको थियो ।