जनता टाइम्स

११ मंसिर २०८१, मंगलवार १२:४७

ट्रम्पद्वारा क्यानडा र मेक्सिकोबाट आउने सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा


वासिङ्टन डीसी, मंसिर ११ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । अमेरिकामा अवैध आप्रवासीको बढ्दो आगमनप्रति आक्रोशित हुँदै ट्रम्पले यो घोषणा गर्नुभएको हो ।

त्यस्तै गैरकानुनी रूपमा देशमा लागु औषध भित्रिएकोमा ट्रम्पले चीनलाई दोष दिनुभएको छ । चीनमा थप १० प्रतिशत कर लगाउने कुरा उहाँले गर्नुभएको छ ।  जनवरी २० मा पदको शपथ लिएपछि सबैभन्दा पहिला क्यानडा, चीन र मेक्सिकोबाट आउने सामानमा कर लगाउने सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा शेयर गरिएका कयौँ पोस्टहरूमा ट्रम्पले बताउनुभएको छ । मेक्सिको र क्यानडाबाट हजारौँ मानिस अमेरिका प्रवेश गरिरहेको र उनीहरूले आफूसँगै लागु औषध र अपराध ल्याइरहेको पनि ट्रम्पले पोस्टमा लेख्नुभएको छ ।

चाहे भने क्यानडा र मेक्सिकोले यी अवैध आप्रवासीहरूलाई रोक्न सक्ने र उनीहरूसँग त्यसो गर्ने शक्ति पनि भएको ट्रम्पको भनाई छ । तसर्थ, क्यानडा र मेक्सिकोबाट आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाइने र क्यानडा अनि मेक्सिकोले आफ्नो सीमाबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीहरूलाई नरोक्दासम्म उनीहरूले भारी शुल्क तिर्नुपर्ने ट्रम्पले उल्लेख गर्नुभएको छ ।

लागु औषध फेन्टानिल चीनबाट आउने

चीनलाई निशाना बनाउँदै ट्रम्पले चीनबाट ठुलो मात्रामा लागु औषध विशेष गरी फेन्टानिल अमेरिकामा आउने गरेको बताउनुभयो । उहाँले यसअघि पनि चीनसँग लागु औषधको मुद्दा उठाउनुभएको थियो ।

चीनले पनि लागु औषध कारोबारीलाई कडा कारबाही गर्ने कुरा पनि गरेको थियो । तर यति हुँदा हुँदै अमेरिकामा फेन्टानिल लागु औषधको ओसारपसार जारी छ । लागु औषधको आपूर्ति रोक्न नसकेकोले आफ्नो सरकारले चिनियाँ सामानमा अरू १० प्रतिशत कर लगाउने ट्रम्पले बताउनुभयो ।