जनता टाइम्स

२७ मंसिर २०८१, बिहीबार ११:१३

म अन्तिमसम्म लडिरहनेछु : दक्षिण कोरिया राष्ट्रपति सुक-योल


सियोल, मंसिर २७ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आज आफू ‘अन्तिमसम्म लडिरहने’ बताउनुभएको छ । युनले आज टेलिभिजनमार्फत सम्बोधन गर्दै गत हप्ता मार्सल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गर्नुभएको हो ।

उहाँले आफ्नो प्रयास ‘लोकतन्त्रको पतन’ लाई रोक्ने र प्रतिपक्षको ‘संसदीय तानाशाही’ को विरोध गर्ने कानुनी निर्णय भएको बताए। दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ ।

तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गर्नुभएको छ । उहाँले भन्नुभयो,‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु ।’ गत हप्ता मंगलबार र बुधबारको बिचमा, युन सुक-योलले देशमा मार्सल ल लागू गर्नुभएको थियो । तर, चर्को विरोधपछि उहाँले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य हुनुभएको थियो ।

युनको यो कदमपछि दक्षिण कोरियामा उहाँको ठुलो विरोध भइरहेको छ र उहाँविरुद्ध अनुसन्धान भइरहेको छ । प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा मारेको थियो । सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ ।