जनता टाइम्स

२९ मंसिर २०८१, शनिबार १२:४१

एनपिएल : काठमाडौं गुर्खाज छ विकेटले विजयी


काठमाडौं, मङ्सिर २९ । नेपाल प्रिमियर लिग (एनपिएल) को आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले ।

उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए ।

साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक÷एक रन जोडे । पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक÷एक विकेट लिए । आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् ।