जनता टाइम्स

८ पुष २०८१, सोमबार १३:०९

मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन


वासिङ्टन, पुस ८ । आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताउनुभएको छ । ट्रम्पले अमेरिकी नियमलाई इङ्गित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताउनुभएको हो ।

एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भन्नुभयो,‘उहाँ राष्ट्रपति हुनुहुने छैन । यो कुरा म तपाईलाई भन्न सक्छु ।’ ‘तपाईलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको थिएन’, ट्रम्पले टेस्ला र स्पेस एक्सका मालिकबारे भन्नुभयो, उहाँ दक्षिण अफ्रिकामा जन्मिनुभएको थियो । अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मेको अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था छ ।

ट्रम्पले विशेष गरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वको सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए । ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएका देखिन्छ । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा २० करोडभन्दा बढी ‘शुभचिन्तक’ लाई यस हप्ता सरकारी कोषको प्रस्ताव वेकार भनेपछि यसले कतिपय रिपब्लिकनलाई समेत क्रुद्ध पारेको थियो ।

ट्रम्पका साथै मस्कले अन्ततः रिपब्लिकन सांसदलाई अमेरिकी काङ्ग्रेसमा कडा परिश्रम गरी सहमत भएको कोष विधेयक फिर्ता लिन दबाब दिएका थिए । यसले संयुक्त राज्य अमेरिकालाई बजेट अभावको सङ्घारमा धकेल्यो जसको परिणामस्वरूप क्रिसमसको केही दिन अघि सरकारल सेवाहरूलाई नियमित रूपमा अघि बढाउन कठिनाई भयो । काङ्ग्रेसले शुक्रबारदेखि शनिबारसम्मको लगातारकोपहलपछि एउटा सहमति गरेको छ र यसले सरकारी सेवाहरू व्यापक अवरोध हुनबाट जोगिएका थिए ।