जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १८:१४

प्रधानमन्त्री ओलीद्वारा एक्शन रुमबाटै राष्ट्रिय गौरवका आयोजना निरीक्षण : आयो सवैलाई यस्तो निर्देशन


काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने निर्देशन सरकारको बटमलाइन सुनाउनु भएको छ । प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट आज विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बटमलाइन सुनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको प्रमुखहरुबाट भिडियो कन्फरेन्समार्फत कार्य प्रगतिको जानकारी लिनुभयो । यसैगरी प्रधानमन्त्री ओलीले रानीजमरा कुलरीया सिंचाइ आयोजना, सिक्टा सिंचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्यप्रगतिको जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेनसमार्फत नै सवै परियोजनामा विभिन्न ठाउँहरुमा भइरहेका निर्माण कार्यको अवलोकनसमेत गर्नुभयो छ ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिब र परियोजना प्रमुखहरुलाई समयमै काम सक्न निर्देशन दिनुभएको छ । ‘कामले गति त लिएको छ तर समय सीमाभित्र सक्नलाई अझै धेरै गति दिनु पर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनोस ।’

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रुपले अध्ययन गर्न, त्यहाँका समस्या सुन्न, सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिनुभयो छ । ‘परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानुन, प्रादेशिक कानुन वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्छ ।’