जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार २०:१०

बेलायतको औद्योगिक क्षेत्रमा ३९ जनाको शव भेटियो


लण्डन, कात्तिक ६

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । शवहरु मध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको बताइएको छ ।

प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट होलिहेड हुँदै शनिबार बेलायत छिरेको थियो। हत्याको आशंकामा प्रहरीले नर्दन आयरल्यान्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरेको छ । शवहरुको पहिचान गर्ने प्रयास भइरहेको एसेक्स प्रहरीले जनाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएका छन्।प्रहरीले औद्योगिक क्षेत्र बन्द गरेर घेराबन्दी गरेको छ ।

राष्ट्रिय अपराध अनुसन्धान विभागले घटनाबारे छानबिन गर्नका लागि अनुसन्धान अधिकृतहरु त्यस क्षेत्रमा खटाइएको जनाएको छ । यसअघि सन् २००० मा ५८ जना चिनियाँ आप्रवासीको शव लरीको पछाडि फेला पारिएको थियो । डोभरमा भएको उक्त घटनामा दुई जना भने जीवितै थिए ।