जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १२:४३

बैतडीमा स्काभेटरले किच्दा एक जनाको मृत्यु


बैतडी, कात्तिक ७

स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन्। मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।

लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिनुभयो ।

स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन्। फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।