जनता टाइम्स

१ माघ २०८१, मंगलवार ०९:५०

केपी ओलीमाथि साइबर हमला गर्नेहरुलाई जस्ताको तस्तै जवाफ दिएर साइबर युद्धमै धुलो चटाउनुपर्छ : प्रेस चौतारी अध्यक्ष बस्नेत


काठमाडौं, माघ १। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेले प्रधानमन्त्री केपी ओलीसहित राष्ट्र र राष्ट्रियताका पक्षधरहरूमाथि नियोजित रुपमा साइवर आक्रमण भइरहेको भन्दै डटेर प्रतिवाद गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।

केन्द्रीय समितिमा मनोनीत सदस्यहरुको शपथपछि बस्नेतले यस्तो धारणा राख्नुभएको हो । उहाँले अहिले राष्ट्र र राष्ट्रियता र समृद्धिका पक्षधरहरु साइबर आक्रमणको निशानामा परेको तथ्य पनि राख्नुभयो । प्रेस चौतारी नेपाल केन्द्रीय समितिमा मनोनीत सदस्यहरूको शपथग्रहण तथा स्वागत गर्न प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले त्यसैको निशानामा प्रधानमन्त्री केपी ओली तथा उहाँका समर्थक र शुभचिन्तकहरू परेका बताउनु भयो ।

‘केपी ओलीको नाम सुन्ने बित्तिकै एक खालको आक्रमण गर्ने काम भएको छ, २०७२ सालदेखि केपी ओलीले नेपालको राष्ट्रियताको पक्षमा जुन अडान राख्नु भयो र मुर्झाएको सपनालाई ब्युँताएर जुन समृद्धिको खाका बनाउनुभयो, त्यसबाट नेपाल बन्छ कि भनेर तर्सिएका शक्तिहरू प्रधानमन्त्री केपी ओलीबिरुद्ध अफवाह फैलाउने अभियानमा लागे, नेकपा एमालेका नेताविरुद्धको प्रहार पनि ओलीलाई साथ दियो भनेर नै हो भन्ने तथ्य सवैले बुझ्न जरुरी छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

प्रेस चौतारीमा आबद्ध पत्रकारहरूले एमाले र केपी ओली विरुद्धको आक्रमण नेपालको समृद्धि विरुद्धको आक्रमण हो भन्ने कुरा बुझ्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय झण्डा माथिको आक्रमण हो भन्ने बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो, त्यसैले केपी ओलीमाथि साइबर हमला गर्नेहरुलाई जस्ताको तस्तै जवाफ दिनुपर्छ र यो लडाईमा बिजय हासिल गर्नुपर्छ ।

आजको युद्ध भनेको साइबरवार भएको बताउँदै बस्नेतले यो युद्ध जित्नै पर्ने बताउनुभयो । आज समृद्धिका सपना विरुद्ध साइबर आक्रमण भइरहेकोले यो युद्धका विरुद्ध विजय प्राप्त गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।  साइबर आक्रमण गर्नेले जस्तै गरी छाडा हिसाबले होइन शिष्ट र तर्कपूर्ण ढङ्गले उनीहरूको प्रतिवाद गर्नुपर्नेमा बस्नेतले जोड दिनुभयो । सबै खालका विकृति र विसङ्गतिका विरुद्ध श्रेष्ठता हासिल गरेका प्रेस चौतारी नेपालका योद्धाहरूले यो आक्रमण विरुद्धको प्रत्याक्रमणमा पनि श्रेष्ठता हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रेस चौतारीमा विगतमा जिम्मेवारी दिन नसकिएका पत्रकारहरूलाई अहिले केन्द्रीय समितिमा मनोनीत गरिएको बताउनुभयो । कतिपय पत्रकार महासंघ र अन्य ठाउँमा पठाउन रिजर्भ गरेर राखिएका पत्रकारहरूलाई ती ठाउँमा पठाउन नसकिएको बताउँदै उहाँले अहिले उहाँहरूलाई केन्द्रीय समितिमा मनोनीत गरिएको बताउनुभयो । संगठन बनाउने, मिलाउने र चलाउने क्रममा यस्ता काम गर्नुपर्ने बस्नेतको भनाइ छ । व्यक्ति फेरिए पनि संगठन नफेरिन उहाँले स्पष्ट पार्नुभयो ।

सबै क्षमतावान् पत्रकारहरू भएको प्रेस चौतारी नेपालमा एकै पटक सबै पत्रकारलाई जिम्मेवारीमा लैजान नसकिएको बताउँदै उहाँले ढिलो–चाँडो सबैले अवसर पाउने बताउनुभयो । प्रेस चौतारीका उपमहासचिव शुरोजंग पाण्डेले सहजीकरण गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव लोग्शरी कुँवरलगायतका पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।