जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार ०९:४९

म्यानमारले अन्तत रिहा गर्यो रोयटर्सका दुई पत्रकार


काठमाडौं, वैशाख २४

म्यानमारले राज्यविरुद्ध अपराध गरेको आरोपमा जेल हालेका दुई पत्रकारलाई रिहा गरेको छ। समाचार संस्था रोयटर्समा कार्यरत वा लोन र क्याव सई मंगलबार विहान रिहा गरेको हो ।

उनीहरूले पाँच सय दिनभन्दा बढी समय जेलमा बिताएका थिए। सात वर्ष जेल सजाय तोकिएका उनीहरूलाई अन्तर्राष्ट्रिय समूदाय र कूटनीतिक वृत्तको व्यापक दबाबपछि रिहा गरिएको रोयटर्सले जनाएको छ। यी दुई पत्रकारलाई राष्ट्रपति विन मिइन्टले आममाफी दिएका हुन्। म्यानमारमा अप्रिल १७ देखि सुरू हुने नयाँ वर्षका अवसरमा एक महिनासम्म कैदीहरूलाई राष्ट्रपतिले माफी दिने चलन छ।

एंगुनको इन्सियन कारागारको गेटमा लोन र क्यावलाई संयौं पत्रकार र शुभचिन्तकले घेरेका थिए। ‘मेरो परिवार र सहकर्मीलाई भेट्न निकै खुसी र उत्साही छु। म जतिसक्यो चाँडो समाचार कक्षमा जानेछु,’ वाले भने। लोन र क्याव २०१७ डिसेम्बरमा पक्राउ परेका थिए। त्यतिबेला उनीहरू पश्चिमी राखिन प्रान्तमा सुरक्षाकर्मीले १० रोहिन्ग्यालाई मारेको घटनाको अनुसन्धानात्मक रिपोर्टिङ गरिरहेका थिए।