जनता टाइम्स

४ माघ २०८१, शुक्रबार १९:३५

मृत्युसंग पौठेजोरी खेलिरहेका पत्रकार महतलाई रोटरीयनको सहयोग


काठमाडौं, ४ माघ । मृत्युसंग पौठेजोरी खेलिरहेका पत्रकार प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष फणि महतलाई रोटरी क्लब अफ काठमाडौं वेष्टले आर्थिक सहयोग गरेको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहनु भएका महतलाई बिहीबार रोटरीयन तथा जनता टाइम्सकी सम्पादक यसिमा महतले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

रोटरी क्लब अफ काठमाडौं वेष्टका अध्यक्ष देशकुमार श्रेष्ठ, रोटरीयन श्रीराम अधिकारी तथा स्वयं यसिमा महतको तर्फबाट रु १५ हजार ५०० सहयोग गरेको सम्पादक महतले बताउनु भयो । ‘यो सानो सहयोग हो, उहाँको उपचारमा लाग्ने खर्चको तुलनामा यो ‘हात्तिको मुखमा जिरा’ भने झैं हो ।’ सम्पादक महतले भन्नुभयो,‘ सबैले यसरी सहयोग गरे ‘एक थुकी सुकी, सय चुकी नदी’ भने झै हुन्छ ।’

रौतहटका स्थानीय पत्रकार महत लामो समयदेखि ब्रेन ट्युमरले ग्रस्त हुनुहुन्छ । पटक–पटकको शल्यक्रियाले शारीरिक तथा आर्थिक समस्यालेसमेत सताएको छ । दह्रो आत्मबल भएका पत्रकार महतले भेटमा खुसी हुँदै ‘नानी अब मलाई निको हुँदैछ’ भन्दा आफू भक्कानिएको उहाँले बताउनुभयो ।

पत्रकार महतले सुरुमा साथीहरूले आर्थिक सहयोग गर्न खोज्दा रिसाउने गरेको स्मरण गर्दै अर्का पत्रकार हरिवल्लभ नेपाल भन्नुहुन्छ,‘अहिले त केहीले पुगेन अनि आफै बैंकको क्यूआर कोड सामाजिक सञ्जालमा पोष्ट्याउन थाल्नु भएको छ ।’