जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १९:५९

नियन्त्रणमा आएन क्यालिफोर्नियाको आगलागी, आगोबाट जोगाउन ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो


अमेरिका, कात्तिक ८। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसको जंगलमा आगलागी नियन्त्रणमा नआएपछि ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उत्तरी लस एन्जलसको स्थानीय सरकारले आगलागीबाट बचाउन ती मानिसहरुलाई अन्यत्र सारेको हो।

शक्तिशाली हावाका कारण जङ्गलमा लागेको आगो बस्तीतर्फ सल्किदैँ गएपछि मानवीय क्षती रोक्न आसपास रहेका मानिसहरूलाई अन्तै सारिएको समाचार एजेन्सीहरुले जनाएका छन । बिहिबारदेखि सुरू भएको आगोलाई पाँचसय अग्नी नियन्त्रकहरुले नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। साथै एयर ट्याङ्करहरुका माध्यमहरुबाट आगो निभाउने प्रयास गरिएको छ। आगलागीबाट सयौं घरहरू जलेका छन्। अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन।

एक हप्तासम्म यस्तै रहे दक्षिणी क्यालिफोर्नियाको स्थिति अझ बिग्रिने अनुमान गरिएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाले बिहीबार नै खतराको संकेत दिदैँ रातो झण्डा देखाएको थियो। आगोका कारण त्यस क्षेत्रमा हावाको गुणस्तरमा समेत असर गर्ने भन्दै विद्यालयहरू बन्द गरिएको छ। यसअघि पनि क्यालिफोर्नियामा आगलागी हुँदा १०० जनाले ज्यान गुमाएका थिए। बिगतको सोही घटनाको पाठ सिक्दै स्थानीय सरकारले आगो प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र सारेको हो ।