जनता टाइम्स

१७ माघ २०८१, बिहीबार ११:५०

प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पाण्डे निर्वाचित


बुटवल, माघ १७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित हुनुभएको छ । संस्थाको चौथो अधिवेशन अन्तर्गत बुटवलमा भएको मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीका अनुसार पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाउनुभएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाईँ २११ मत पाएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाउनुभयो । सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाउनुभयो ।

दुई उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली, उपेन्द्र गुप्ता, पूर्णबहादुर थापा, राजु यादव र रोशन श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आबद्ध छन् । अध्यक्ष पाण्डेय दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।