जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १२:१४

बेरोजगारलाई बैशाख मसान्तभित्र विवरण बुझाउन आव्हान


काठमाडौं, बैशाख २४

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बेरोजगार नागरिकलाई बैशाख मसान्त भित्र वडा कार्यालयमा गएर बेरोजगारिताको बिबरण बुझाउन आग्रह गर्नुभएको छ । महानगरपालिकाको प्रि–बजेट छलफल कार्यक्रमा मेयर शाक्यले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — रोजगार कार्यक्रमको उद्देश्यलाई भ्रमित पार्ने टिप्पणी नगर्न आग्रह गर्नुभयो । यस कार्यक्रमले बेरोजगारलाई १०० दिनको रोजगारी दिन्छ । सूचीमा भएकाले यदि काम पाएनन् भने उनीहरुलाई निर्वाह भत्तावापत्को रकम दिइने हो । मेयर शाक्यले बिषयलाई अझ स्प्रष्ट पार्दै भन्नुभयो — अहिले सरकारले रोजगार दिने बिषयभन्दा बेरोजगार भत्ता दिने रे भनेर असत्य चर्चा सुनिन्छ । सरकारले बेरोजगार भत्ता दिँदैन, सूचीमा परेकालाई काम नि सकिएन भने निर्वाहभत्ता दिन्छ ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — नेपालमा कामको सम्मान गर्ने संस्कृतिको बिकास गर्नलाई पहिलो आवश्यकताका रुपमा औल्याउनुभयो । लाखौं खर्च गरेर बिदेशिने युवाले त्यहाँ जति कमाउँछ, बिना लगानी आफ्नै भूमिमा त्यति नै कमाउने अवसर हुँदा हुँदै पनि ऊ पैसा तिरेर बिदेश जान्छ । यो सामाजिक मनोबिज्ञान धेरै जटिल छ । न्यौपानेको प्रश्न थियो — नेपालमा बिदेशी नागरिकका लागि श्रमको सम्भावना छ, नेपालीलाई किन छैन?

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. लोकराज भुषालले नेपालका बर्षेनी ५ लाख युवा श्रम बजारमा आउने तथ्य उल्लेख गर्दै तीमध्ये १ लाख नेपाली श्रम बजारमा खपत हुने बाँकी बिदेशिने गरेको अवस्था औल्याउनुभयो । नेपालमा करीब ४ लाख बिदेशी श्रमिकले काम गर्छन् । यदि नेपालका जनशक्तिलाई श्रममा लगाउन सक्ने हो भने बजार चाहिँ छ । रोजगार कार्यक्रमले यही सन्तुलन मिलाउन खोजेको हो, भुषालको भनाइ थियो ।

महानगरभित्र कोही बेरोजगार हुनुहुन्छ भने बैशाख मसान्तभित्र वडा कार्यालयमा गएर सूचीकृत हुनुहोस्, कार्यक्रममा साकाजिक बिकास बिभागका प्रमुख सनतकुमार थापाले आग्रह गर्नुभयो भने रोजगार सेवा केन्द्रका संयोजक भरत ओलीले — रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको काममा जोडिने उल्लेख गर्नुभयो ।