जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार २०:०३

सङ्खुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण


किमाथाङ्का, फागुन ८ । जिल्ला कारागार खाँदबारीका दुई कैदीबन्दीमा क्षयरोग (टिबी) को सङ्क्रमण भेटिएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थय शिविर सञ्चालन गरिएको छ । कारागारका कैदीबन्दीमा क्षयरोग (टिबी) को सङ्क्रमण भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले पुष्टि गर्नुभयो । राउतका अनुसार क्षयरोग (टिबी) को सङ्क्रमण फैलन नदिन सुरक्षा सतर्कता अपनाइएको छ ।

कारागारमा रहेका अन्य कैदीबन्दीमा सङ्क्रमण फैलन नदिन जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा आज ८१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको अहेव राउतले बताउनुभयो । दुई जनाको सम्पर्कमा रहेका अन्य कैदीबन्दीमा समेत क्षयरोग (टिबी) को सङ्क्रमणको लक्षण देखापर्न थालेपछि एउटा ब्लकभित्रका ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ ।

आज स्वास्थ्य परीक्षण गरिएका कैदीबन्दीको रिपोर्ट आउन केही दिन लाग्ने अहेव राउतले बताउनुभयो । क्षयरोग सङ्क्रमण देखिएका बिरामीले नियमित औषधी सेवन गरिरहेका छन् । जिल्ला कारागार खाँदबारीमा ५५ जना क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । जिल्ला कारागारमा १३१ पुरुष, नौ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेको जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले जानकारी दिनुभयो ।