काठमाडौं, २० फागुन । काठमाडौं विश्वविद्यालयको कुलपति एवं प्रधामनमन्त्री केपी शर्मा ओलीले उपकुलपतिका उम्मेदवारहरूले पाएको नम्बर हेर्ने हुनुभएको छ ।
समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि प्रधानमन्त्री ओलीले समितिका सदस्यहरूलाई मंगलबार बोलाएर नाम सिफारिस गर्न ढिलाइ भएको विषयमा चासो ब्यक्त गर्नुभएको हो । ‘समितिका सदस्यसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो । समितिमा सहमति गरेर नाम सिफारिस गर्न प्रधामनन्त्रीले भन्नु भएको छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भन्नुभयो , ‘यदि सहमति नभए कसले कति नम्बर पाएको हो त्यो प्रधानमन्त्रीले हेर्नुहुन्छ ।’
गत फागुन २ र ३ गते सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता सकिएर पनि समितिले नाम सिफारिस गरेको छैन । समितिमा केयूका पूर्व उपकुलपति प्रा.डा सुरेशराज शर्मा संयोजक, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । तीन सदस्यबीच सहमति नहुँदा केयूको उपकुलपतिका लागि नाम सिफारिस भएको छैन । १० जनाबाट मेरिटको आधारमा तीन जनाको नाम समितिले सिफारिस गर्नुपर्ने हो । आफू अनुकुलका व्यक्तिलाई नाम सिफारिस गर्न खोजेपछि समितिका तीन सदस्यबीच सहमति नभएको केयूका अधिकारीहरू बताउँछन् ।
यद्यपि, केयूका अधिकारीका अनुसार बुधबार समितिले नाममा सहमति गर्न अन्तिम प्रयास गर्ने तयारी गरेका छन् ।
उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।
प्रतिक्रिया दिनुहोस्