जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १९:३६

गृहजिल्लाबाट मुख्यमन्त्री राईले सुनाए जनताले चाहे जस्तै प्रदेशको विकास गर्ने यस्तो योजना


भोजपुर, कात्तिक १० । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने उदघोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोजपुर नगर कमिटीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गर्ने उदघोष गर्नुभएको हो ।

प्रदेश १ सबै कुराले पूर्ण रहेको बताउदै राईले प्राकृतिक स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने योजना सुनाउनु भयो । ‘यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ,’ मुख्यमन्त्री राईले भन्नुभयो । उहाँले विकासका लागि सबै जिम्मेवारी आमनागरिकले समयको महत्वलाई बुझेर काम गर्नुपर्ने सुझाव पनि दिनुभयो । ‘तपाई हामी यो देशका सचेत नागरिक हौं, ‘हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी बहन गर्न आवश्यक छ,’ मुख्यमन्त्री राईले भन्नुभयो ।

प्रदेश सरकारले विकासलाई प्राथमिकतामा राखेर प्रशस्त बजेट विनियोजन गरेपनि योजनामा सोचे अनुरुप खर्च नभएकोमा भने उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘विकास गर्न प्रदेश सरकारले करोडौँ बजेट छुट्यायो र काम पनि भइरहेको छ। जनताले पनि विकास निर्माणका कामको निगरानी र खबरदारी गर्नुपर्छ’, मुख्यमन्त्री राईले भन्नुभयो । प्रदेशबाट सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी ढंगले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको जानकारीसमेत उहाँले दिनुभयो ।

मुख्यमन्त्री राईले १ सय पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मुन्दुम ट्रेलका लागि दुई करोड विनियोजन गरेको समेत जानकारी दिनुभयो। यसबाहेक जिल्लाका ठूला सडक योजना र पक्की पुल निर्माणका योजनाको काम आफ्नो कार्यकालभित्र सम्पन्न गर्ने उहाँको भनाई थियो ।