काठमाडौं, १२ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिनुभएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उहाँले यस्तो चुनौति दिनुभएको हो ।
फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिनुभएको छ । उहाँले लेख्नुभएको छ , ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने रु माथिको कुरा गलत भए मलाई जेल हाल ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले एउटा छानविन समिति बनाउनुभएको थियो।
उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ति नगरेको प्रतिवेदन तयार गर्यो । तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मान्नुभएन । त्यसपछि उहँले महानगरकै तीन विभागीय प्रमुखहरुलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाउनुभएको थियो । सोही प्रतिवेदन उहाँले आज फेसबुकमा हाल्नुभएको हो । बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्