काठमाडौं, १२ चैत्र । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गर्नुभएको छ ।
शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने बताउनुभयो । ‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उहाँले भन्नुभयो , ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’
आफू ०७७ सालमा केही समय कार्यकारी निर्देशक हुँदा अहिलेभन्दा पनि विश्वासिलो बिजुली दिइएको उहाँले बताउनुभयो । उद्योगमा त्यसबेला लोडसेडिङ नगरिएको उहाँको भनाइ थियो । ‘अबको चुनौती विश्वासिलो बिजुली हो, लोडसेडिङ होइन । अब विद्युत्को गुणस्तर वृद्धि हुन्छ । दिनमा एकपटकभन्दा बढी ट्रिपिङ नहुने वातावरण बनाउँछु,’ उहाँले भन्नुभयो । डेडिकटेड र ट्रंकलाइन विवादको समाधान प्राविधिक रुपमा यसको निकाल्नुर्ने उहाँले बताउनुभयो । ‘त्यो निस्कन्छ पनि । यो मेरो लागि अवसर हो,’ उहाँले भन्नुभयो । विद्युत् प्राधिकरणमा कोही व्यक्ति नहुँदैमा भारतले विद्युत् दिन छोड्ने भन्ने बेकारको हाल्ला भएको उहाँले बताउनुभयो । ‘प्राधिकरण ०४१ सालदेखिको संस्था हो । जो व्यक्ति आए पनि फरक पर्दैन,’ उहाँले भन्नुभयो । उहँले अबको एक दुई हप्ताभित्रै नतिजा देखिनेगरी काम गर्ने पनि बताउनुभयो । ‘लोडसेडिङ हुँदैन । करिब एक दुई हप्ताभित्र मैले त्यो नतिजा देखाउँछु,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्