जनता टाइम्स

१२ चैत्र २०८१, मंगलवार २०:२४

गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थल: तीनकुने र भृकुटीमण्डप


काठमाडौँ, १२ चैत्र । गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा एकैदिन प्रदर्शन हुँदै छ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले पनि त्यसैदिन तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ । गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । प्रसाईं नेतृत्वको समूहले चाहिँ काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्नेबारे प्रशासनलाई जानकारी गराएका छन् । तर, नवराज सुवेदी नेतृत्वको पूर्व राजसंस्थावादी समूहले चाहिँ प्रदर्शन स्थलबारे सार्वजनिक रूपमा बताएका छैनन् । समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी गराएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । दुईस्थान बाहेक अन्यत्र प्रदर्शनको कार्यक्रमबारे आफूलाई जानकारी नभएको प्रजिअ तिवारीले बताउनुभयो । प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।