काठमाडौं, १३ चैत्र । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान साढे ९ बजे शुरू भएको आगलागी झन्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम्र प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न पालिकाका १२ वटा दमकल तथा झन्डै तीन सय जनाको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उहाँले बताउनुभयो ।
के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाण्डौबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको उद्धार भएको थियो ।
प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकाहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्