जनता टाइम्स

१३ चैत्र २०८१, बुधबार १९:४४

माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरे– महासचिव शंकर पोखरेल


काठमाडौं, १३ चैत्र ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको बताउनुभएको छ ।  बुधबार राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीका नेताले आफूले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेर गणतन्त्र ल्यायौँ भने पनि उनीहरूको वास्तविकता केही समय यताको घटनाक्रम र अभिव्यक्तिले पुष्टि गरेको बताउनुभयो । ‘उनीहरूलाई संरक्षण गर्ने, प्रोत्साहन गर्ने को थिए भन्ने कुरा उनीहरूलाई सशस्त्र द्वन्द्वको समयमा जस जसले सहयोग दिए, उनीहरूले नै बाहिर ल्याइरहेका छन्’, पोखरेलले भन्नुभयो ।

नेपाली समाजमा हिंसात्मक कार्यलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्ने कम नेकपा एमालेले नै गरेको पोखरेलले दाबी गर्नुभयो । झण्डै पौन पाँच सय कार्यकर्ता गुमाउँदा पनि हामीले विचलित नभई हिंसालाई शान्तिमा परिणत गर्ने कुराको अगुवाइ गर्‍यौँ, १२ बुँदे सहमतिका माध्यमबाट माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा सामेल गर्ने काम गर्‍यौँ’, उहाँले भन्नुभयो ।

एकै समयमा शान्तिपूर्ण आन्दोलन र हिंसात्मक आन्दोलन सफल नहुने बताउँदै पोखरेलले माओवादी हिंसात्मक आन्दोलन छाड्न तयार भएपछि मात्र २०६२ सालको जनआन्दोलन सफल भएको उहाँको भनाइ छ । त्यसको अगुवाइ नेकपा एमालेले गरेको उहाँको दाबी छ ।

शान्ति प्रक्रिया पछि माओवादीको अराजकता नियन्त्रण गर्न नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र युथफोर्सले गरेको पोखरेलले सुनाउनुभयो । एक समय माओवादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेका बताउँदै उहाँले अहिले राजावादीहरू त्यही बाटो हिँडेका पोखरेलले बताउनुभयो । माओवादीलाई जस्तै राजावादीलाई पनि वैधानिक बाटोमा आउन बाध्य पार्नु पर्ने र त्यसको लागि फेरी एक पटक युवाहरू जुरमुराएर उठ्नु पर्ने पोखरेलको धारणा छ ।

कतिपय नेपालको अवस्था पञ्चायतको बेलमा अति राम्रो थियो भन्ने भ्रम फिँजाउने प्रयास गरिरहेका उहाँले बताउनुभयो । यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न उहाँले आग्रह गर्नुभयो । राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको पोखरेलले उदाहरण प्रस्तुत गर्नुभयो ।

पोखरेलले देश कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताउनुभयो । एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको पोखरेलले प्रष्ट पार्नुभयो । देशमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पनि पराजित गर्न आवश्यक रहेको बताउँदै अब त्यस दिशामा अघि बढ्नु पर्ने स्पष्ट पार्नुभयो ।

पोखरेलले राजावादीले मोटरसाइकलमा आफ्नो शक्ति प्रदर्शन गरेका बताउँदै पोखरेलले मोटरसाइकल र्‍याली कस्तो हुन्छ भन्ने हेर्न मन भए नेकपा एमालले चैत १८ गते काठमाडौँ आयोजना गर्ने र्‍याली हेर्न आउन पोखरेलले राजावादीलाई आग्रह गर्नुभयो ।