जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १६:००

भिसा त्यागेर गाउँमै च्याउ खेती, छोटो समयमै लखपति


डडेल्धुरा, कात्तिक १३ । गन्यापधुरा गाउँपालिका–१ भाँतकाडामा खेमराज जोशी बिदेश जानका लागि भिसाको पर्खाइमा हुनुहुन्थ्यो । राहदानी बुझाएर भिसाको पर्खाइमा रहेका जोशी ती सवै योजना त्यागर केही समयदेखि गाउँमै च्याउखेती गरिरहेका छन । जमिन भाडामा लिएर स्थानीय युवाहरूसँगको साझेदारीमा जोशीले च्याउ खेती अघि बढाउनु भएको हो ।

विदेश जानका लागि राहदानी बनाएर काठमाडौंमा भिसाको पर्खाइमा बस्नुभएका जोशी त्यतिकै बस्न सम्भव नभएपछि च्याउ खेतीमा काम गर्ने अवसर पाउनुभयो । जब च्याउ खेतीमा उहाँको लगाव बस्यो, विदेशमोहनै हराएर गयो । काठमाडौंमै रोजगारीको दौरहान जोशीले च्याउ खेतीबारे केही सिप सिक्नुभयो । त्यही सिप लिएर घर फर्किएपछि आफ्नै जिल्लामा खेती सुरु गर्नुभएको हो ।

‘भिसाको पखाईमा धेरै समय भइसकेको थियो, त्यस अवधिमा काठमाडौंमै एक जनाले च्याउ खेतीमा काम गर्ने मौका दिए, त्यहाँ च्याउ खेती गर्ने सिप आर्जन भयो, अनि मैले अब विदेसिनु भन्दा यही सिकेको सिप लगेर आफ्नो गाउँ फर्किनु पर्छ र त्यहीँ परिश्रम गर्नुपर्छ भन्ने सोचेँ, यही सोचलृे गाउँमा आएर च्याउखेती सुरु गरेको हो,’ जोशीले भन्नुभयो । गाउँमा फर्केर सिकेको सिप प्रयोग गर्दै केही युवाहरूलाई साथमा लिएर काम गरिरहनुभएका जोशीको अहिले मनग्य आम्दानी हुने गरेको छ । उहाँ आफ्नो काम र कमाईप्रति सन्तुष्ट रहेको बताउनु हुन्छ । विस्तारै च्याउ खेतीलाई बढाउँदै लैजाने जोशीको योजना छ ।

‘अहिले चार टनेलमा एक हजार ६ सय बलमा मात्र छ । अब बजार बढ्दै गरेपछि खेती पनि बढाउँदै जाने सोच छ, अहिले त हामीले डडेल्धुरा र बैतडीको खोड्पे लगायतका बजारमा मात्र बिक्री गरिरहेका छौं,’ जोशीले भन्नुभयो । चार वटा टनेलमा लगाएको च्याउबाट दैनिक एक क्विन्टल भन्दा बढी च्याउ बिक्री गर्ने गरेको जानकारी पनि दिनुभयो । अहिले कन्ने च्याउको उत्पादन गरिरहेको र बिस्तारै गोव्रो च्याउको पनि उत्पादन गर्ने योजनामा जोशी रहनुभएको छ ।