जनता टाइम्स

२९ चैत्र २०८१, शुक्रबार ०९:०९

राजा महाराजाको कुनै काम छैन, जनता नै सबैथोक हो : माधव नेपाल


रौतहट । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन् । उनले जनताभन्दा माथि कोही नरहेको पनि बताए ।

रौतहटको गरुडामा बिहीबार पार्टीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीहरुको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे । उनले राजावादीहरुद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ती जलाउने लगायतका कार्य गरेको उल्लेख गरे ।

उनले भने, ‘चैत्र १५ गते राजावादीहरुले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ ।

अब राजा महाराजाको कुनै काम छैन । अब जनता नै सबैथोक हो । हामी सबैको सामु भनिरहेका छौँ । हामी जनताको सेवामा लागिरहेका छौँ । समाज परिवर्तनमा लागिरहेका छौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । पार्टीको नवौं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए ।