कास्की, चैत ३१ । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल वर्षाले रोकिँदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ आजको पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबीचको खेल वर्षाका कारण हुन सकेन । दुवै टोलीले एक–एक अङ्क बाँडे ।
दोस्रो खेल पनि वर्षाले प्रभावित भएपछि खेल १९ ओभरमा झारिएको थियो । उक्त खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेस प्रदेश क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्यो । जितका लागि १२९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा पाँच विकेट गुमाउँदै १३१ रन बनायो ।
उसका लागि ओपनर देव खनाल ४३ रन बनाए । उनले २३ बलमा छ चौका र दुई छक्का प्रहार गरे । रञ्जित खत्रीले ५४ रनको अर्धशतकीय पारी खेले । मधेसका लागि प्रदीप पासवान र हरिशङ्कर साहले समान दुई–दुई तथा पप्पु यादवले एक विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिङ थालेको मधेस प्रदेशले १९ ओभरमा नौ विकेट गुमाउँदै १२८ रन बनायो । लुम्बिनीका लागि अजयकुमार चौहानले चार ओभरमा २७ रन खर्चदै सर्वाधिक तीन विकेट लिए । देव खनालले दुई तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान एक–एक विकेट लिए ।
यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । विजेताले रु १० लाख र उपविजेताले पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कष्ट बलर र ब्याटरले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्