काठमाडौं, १२ जेठ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताउनुभएको छ । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उहाँले बताउनुभयो । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किनुभएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे जिज्ञासा राखेको थिए । सो जिज्ञासामा उहाँले मनोरञ्जनका लागि हल्ला चलाइएको बताउनुभयो । ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उहाँले प्रश्नकर्ता पत्रकारलाई भन्नुभयो, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’
सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’ सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिनुभयो । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्री ज्यूको कुराकानी पनि भाको छ, त्यस्तो केही पनि छैन,’ उहाँले भन्नुभयो , ‘फोनमा कुरा भयो ।’
देउवा र आरजु सँगै बैंकक जानुभएको थियो । उहाँहरु दुवै जना आज स्वदेश फर्किनुभएको छ।
प्रतिक्रिया दिनुहोस्