काठमाडौं, १६ वैशाख । बाँकेको बैजनाथ गाउँपालिका– ४, नउलापुरमा करिब दश वर्षको बालकको शव फेला परेको छ ।
खेतमा गाडेको अवस्थामा बालक कुशल बुढाको शव फेला परेको हो । बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाको छोरा भएको पुष्टि भएको छ ।
कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल ८ गतेदेखि हराएको भन्दै आमा यशोधाले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् ।
कुशलको शवलाई सानो खाल्टो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको थियो ।
शवभन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको थियो ।
प्रहरीका अनुसार, कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी छन् । कोहलपुरमा डेरा गरी सबैसँगै बस्थे ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको छ ।
बालकको शव नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्